रमेश उप्रेतीलाई ‘हिरो’ पुग्यो, अब बन्न चाहन्छन् ‘खुंखार भिलेन’

रमेश उप्रेती कुनै बेलाका चल्तीका हिरो हुन् । एकपछि अर्को फिल्ममा काम गर्न भ्याइनभ्याई हुन्थ्यो । फिल्महरू पनि सफल हुन्थे । तर त्यहीबिच उनी अमेरिकातिर लागे ।
नेपाल आएर सन् २०१८ मा ‘ऐश्वर्या’मार्फत फिल्ममा कमब्याक गरे । रमेश र दीपिका प्रसाईंको रिल जोडीलाई पर्दामा निकै रुचाइयो । त्यसयताका सात वर्ष उनी ठुलो पर्दाबाट टाढै रहे । अब भने उनी ‘झरीपछिको इन्द्रेणी’ मार्फत फेरि सिनेमा हलमा आउँदैछन् ।
पहिले लामो समय अमेरिका बसेर आएको हुनाले यो ‘ग्याप’लाई रमेश फेरि उतै फर्किए भन्ने अर्थमा लिएका थिए । तर उनी न त अमेरिका फर्किएका थिए, न त फिल्म क्षेत्र नै छाडेका थिए । तै पनि प्रश्न उब्जिन्छ- यति लामो विश्राम किन ?
‘खासमा ऐश्वर्यापछि म आफैं एक फिल्म निर्माण तयारीमा थिए । त्यो समय कोभिड सुरु भयो । त्यो महामारीले गरेको तयारी र योजनाहरूलाई विफल भयो’, उनले भने, ‘कोभिड महामारी सकिन लाग्दा बल्ल काम सुरु गर्ने मुड बनेको थियो । त्यहीबिच केही व्यक्तिगत र आन्तरिक समस्याले मलाई मानसिक रूपमा विचलित बनायो ।’ त्यसपछि केही समय आफैंलाई काम गर्न मन नलागेको उनी सुनाउँछन् ।